कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ : भाइरोलोजिष्ट खड्का

१४ भदौ ७७, सोमबार

१५ भदाै, बाग्लुङ।

Advertisement

नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिइन्, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।”

धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनलाई दुई हप्ताको बीचमा एक दिन उच्च रक्तचापबाहेक कुनै पनि औषधिको प्रयोग गर्नुपरेन । चैतमा पहिलो पटक देखिएका दुई सङ्क्रमितको एकै स्वर थियो, “स्वास्थ्यकर्मीको व्यवहार, आफ्नो आत्मबल र खानपानको व्यवस्थापनले नै कोरोना जित्यौँ ।”

Advertisement

आइतबार दिउँसोसम्म बागलुङमा सङ्क्रमितको सङ्ख्या २८६ पुगेको छ । तीमध्ये २६१ जना आइसोलेसनमा बसेर निको भएपछि घर फर्किए । कोरोनाका कारण एक जनाको ज्यान गयो । निसीखोलाका पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण रहेको पुष्टि भएको थियो ।

जिल्लाका आइसोलेसन र प्रि–आइसोलेसनको तथ्याङ्कअनुसार निको भएका अधिकांशमा कोरोना सङ्क्रमणको लक्षण नै थिएन । उनीहरु कसैले पनि न त खोपको प्रयोग गरे न औषधि नै । सबैले भन्ने एउटै हो, “ढुक्कले बसेँ, समाचार पढेँ, तातोपानी खाएँ, कोरोना जितेँ ।” यद्यपि आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मबल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञको धारणा छ । “निको हुन्छ, ९८ प्रतिशतमा ग्यारेन्टीका साथ निको हुन्छ त्यसमा दुईमत रहेन”, अमेरिकामा रहेका जीवाणु वैज्ञानिक (भाइरोलोजिष्ट) सुदीप खड्का भन्छन्, “कोरोनाको न त कुनै औषधि प्रमाणित छ न खोप, तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ ।” उनी इबोला भाइरसको सुई पत्ता लगाउने वैज्ञानिकमध्येको एक सदस्य हुन् ।

Advertisement

लक्षण नदेखिएका अधिकांश बिरामी निको हुने भएकाले तातोपानी, आत्मबल र जडीबुटीको भ्रम परेको उनको जिकिर छ । “कोरोना लागे पनि तातोपानीले जितिन्छ भनेर भ्रममा नपरौँ, यो गलत हो”, खड्का भन्छन्, “लक्षण भएका र जोखिममा रहेका बिरामीलाई कठिन हुन सक्छ ।” अरु भाइरसभन्दा कोरोनाकोे फैलावट धेरै भएकाले यो रोगसँग खेलबाड गर्न नहुने उनको तर्क छ । नेपालमा पछिल्लोपटक समुदायमा फैलिएको सङ्क्रमणले थप खतराको सङ्केत गरेको भन्दै इबोलाभन्दा कम मृत्युदर भएको कोरोनाले धेरैको मृत्यु निम्त्याउने उनले बताए ।

“एक तिहाइ मान्छेलाई यसको लक्षण नै देखिँदैन, जुन खतरनाक हो”, खड्का भन्नुहुन्छ, “अहिले हामीले सबै निको हुन्छ भनेर हेलचेक्र्याईं गर्दा दुई प्रतिशतमा पर्ने उमेर पुगेको समूहलाई निकै कठिन हुन्छ ।” उनले कोरोनाको औषधि वा खोप तयार भएर तत्काल आउने सम्भावना नरहेको समेत बताए ।

रासससँगको टेलिफोन संवादमा खड्काले भने, “इबोलाको खोप सबैभन्दा छोटो समयमा बनेको हो, जसका लागि दुई वर्ष लाग्यो ।” कोरोनाका तयार भएका खोप तेस्रो परीक्षणमा रहेको भए पनि त्यसको उपलब्धता अझै कठिन रहेको उनको भनाइ छ । “खोप बने पनि त्यसको उत्पादन सबैलाई पुग्ने गरी बनाउन कति समय लाग्ला रु”, प्रतिप्रश्न गर्दै उनले भने, “त्यसैले हामीले सतर्कता अपनाउनुको विकल्प नसोचौँ ।”

विदेशमा जस्तो नेपालमा सङ्क्रमण फैलिँदैन भनेर चलेका हल्लासमेत भ्रम भएको भन्दै उनले आगामी दिन थप खतरनाक भएको सङ्केत गरे । अस्पताल, भेन्टिलेटर र आइसियु लक्षण भएका बिरामी र कोरोनाका कारण कठिन अवस्थामा रहेका बिरामीको लागि तयार राख्नुपर्ने खड्काको सुझाव छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top