नितेश यादव
१८ भदौ, जनकपुरधाम ।
कोरोना संक्रमणका कारण सप्तरीका थप दुई जना मृत्यु भएको छ ।
बिहीबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारको क्रममा सप्तरीको राजगढ गाउँपालिका–६ का एक ६५ वर्षीय पुरुष र राजविराज नगरपालिका–७ निवासी अन्दाजी ५५ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले नेपाल टाईम्सलाई जानकारी दिए ।
उनीहरुलाई विगत केही दिनदेखि ज्वरो आएपछि तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि लगेपनि थप उपचारको लागि धरान पठाएकोमा धरानमै दुवै जनाको मृत्यु भएको यादवको भनाइ छ ।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुअघि राजगढ गाउँपालिकाका ती पुरुषको राजविराजमा स्वाब संकलन गरिएको थियो । उपचारका क्रममा उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ । राजगढ गाउँपालिका–६ का पुरुष राजविराजस्थित नेपाल टेलिकम प्रशासनमा सहायक अधिकृतको रुपमा कार्यरत रहेका थिए ।
त्यस्तै, केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराज–७ का ६५ वर्षीय पुरुषलाई उपचारअघि स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेकोमा बिहीबार मृत्यु भएको बताइएको छ । सप्तरीमा हालसम्म ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।