दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार

दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार

काठमाडौँ : नेकपाले अध्यक्ष पुष्पकमल दाहाललाई सम्पूर्ण कार्यकारी अधिकार दिने प्रस्ताव तयार पारेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रवार बस्ने स्थायी कमिटी बैठकका लागि तयार पारेको प्रस्तावमा दुई अध्यक्षको कार्यविभाजन तोक्दै दाहाललाई कार्यकारी अधिकार दिइएको छ ।

पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनलाई परिमार्जन गर्दै तयार नयाँ प्रस्तावमा सरकारको काम प्रधानमन्त्रीको हैसियतमा ओलीले र पार्टी काम कार्यकारी अध्यक्षको हैसियतमा दाहालले गर्ने उल्लेख छ ।

ओली र दाहालवीच बुधबार भएको भेटवार्तापछि स्थायी कमिटी बैठकमा पेश गर्न १५ पृष्ठ लामो प्रस्ताव तयार भएको हो । लगत्तै प्रस्ताव अध्ययनका लागि स्थायी कमिटी सदस्यकहाँ पठाइएको छ ।

जसअनुसार अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने शीर्षकको प्रस्तावमा ‘अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रीत हुने’ उल्लेख छ । यसै गरी ‘अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने’ प्रस्ताव छ । अध्यक्षद्वयले पार्टी र सरकारवीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने,’ प्रस्तावमा छ ।

यसअघि कार्यदलले बनाएको प्रतिवेदनमा ‘अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने’ भन्ने थियो । नयाँ प्रस्तावमा मूलत भन्ने शब्द हटाइएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहितका केही नेताले १८ भदौको सचिवालय बैठकमा दुई अध्यक्षको कार्यविभाजनमा मूलतः शब्द रहेकोमा असन्तुष्टि राखेका थिए । दाहाललाई गत मंसिर ४ मै कार्यकारी अधिकार दिए पनि कार्यन्वयन नभएकोमा उनी असन्तुष्ट थिए ।

नयाँ प्रस्ताव अनुसार ‘पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने । सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने’ उल्लेख गरिएको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे  छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.