८ आश्विन, पोखरा ।
स्याङ्जामा पहिरोका कारण ६ जनाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ६ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ ।
प्रहरीले उनको शव निकालेको छ । यता, वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका ४ जनालाई पुरेको छ । ‘माया नेपालीको घरबाट ५ जनाको शव निकालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले भने–‘अर्का १ जनालाई जिवित उद्धार गरेका छौँ, घरभित्र ४ जना पुरिएका छन्, उद्धार कार्य हुँदैछ ।’
माया नेपालीको घरमा १० जना थिए । जिवित उद्धार गरिएका एकजनाको वालिङमा उपचार भइरहेको छ । तमादी डाँडा जिल्ला सदरमुकामबाट ३८ किलोमिटरको दुरीमा छ ।