२१ असोज, काठमाडौं ।
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । जीवन रक्षा र संवादकाे माध्यमबाट सत्याग्रह अन्त्यका लागि वार्ता टोली गठन गर्न १८ गते दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।
भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने चिकित्सक संघद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ ।
पर्सि २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टनेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ ।
छ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ । डा केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गए पनि सरकारले वार्ताको पहल गरेको छैन। उनीसँग वार्ता गर्न विभिन्न संस्थाले दबाब दिएका छन्।
अनसन बसेको २३औं दिन मंगलबार शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

				
                                                    
                                                    






                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
