१४ असार, काठमाडौं ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।
आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले राष्ट्रपतिको लिखित जवाफमा संविधानभन्दा अतिरिक्त तर्क आयो भन्ने कुरा उठेको छ नि भन्दै प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीको दाबी गरिएको निवेदन अस्वीकार गर्दा भन्दा लिखित जवाफमा संविधान भन्दा अतिरिक्त तर्क आयो भनेर रिट निवेदकका कानुन व्यवासायीले प्रश्न उठाउनु भएको छ, यसमा स्पष्ट पार्न आग्रह गर्दछु ।’ महान्यायाधिवक्ता रमेश बडाललाई खतिवडाले भने ।
जवाफमा बडालले असंवैधानिक दावीलाई संवैधानिक जामा पहिराइदिएको तर्क गरे । ‘उहाँहरुको असंवैधानिक दावीलाई संवैधानिक जामा पहिराइदिनुभएको थियो । अब त्यो जामा अदालत आएर खुल्न लागेको छ । उहाँहरुको लिखत हेर्ने अधिकार राष्ट्रपतिलाई छ ।
विद्धान मित्रहरुले राष्ट्रपतिलाई संविधानमाथि भन्ने ? उहाँ आफैँ संविधानबमोजिम जन्मिनुभएको हो । त्यसकारण अरु कसैले सिफारिस गरेर गरेका काममा न्यायिक पुनरावलोकन हुन्छ र भएका पनि छन् । तर उहाँबाट भएका एकल निर्णयमा पुनरावलोकन हुन सक्दैन ।’ बडालले भने ।