विराटनगर,भदौ १७
थारु समुदायको अधिकार सुनिश्चितगर्न थप आन्दोलनको आवश्यकता रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । थारु कल्याणकारिणी सभा मोरङको आज विराटनगरमा भएको नवौं जिल्ला अधिवेशनमा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् ।
उनीहरुले नयां संबिधानले समेत थारुहरुको अधिकार र भुमि सुनिश्चित गर्न नसकेको भन्दै आन्दोलनको विकल्प नरहेको बिषयमा जोड दिएका थिए । थरुहट–थारुवान केन्द्रीय परिचालन एवम संयोजन समितिका सदस्य किशोर विश्वासले थारुहरुको अस्तित्व संकटमा परेको भन्दै अस्तित्व जोगाउन सम्पुर्ण थारुहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
उनले थारुहरुको अस्तित्व मेटन उपनिवेशवादी,एकात्मकतावादी र थारु विरोधीहरुले थारु नेताहरुलाई झुठा मुद्धा लगाएर फसाउने काम गरेको दाबी गरे । प्रदेश एकका प्रदेशसभा सदस्य बिजय विश्वासले संघीयता बिरुद्ध षडयन्त्रहरु शुरु भएकाले संघीयता जोगाउनु सबैको पहिलो दायित्व रहेको बताए । अधिवेशनले नयां नेतृत्व समेत चयन गर्ने जनाइको छ ।