काठमाडौं ,पुस १६
अब सवारी साधन दुर्घटनामा पर्ने यात्रुहरुको १० लाख रुपैंयाँँ बराबरको बीमा हुने भएको छ । यातायात व्यवस्था बिभागले सडक दुर्घटनामा पर्ने यात्रुहरुको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैंयाँ पाउने व्यवस्था अघि सारेको हो ।
हालसम्म सडक दुर्घटनामा मृत्यु हुनेका आश्रित परिवारले बीमा वापत ५ लाख रुपैंयाँ पाउने गरेका थिए । त्यसमा यातायात व्यवसायी समितिहरुले अतिरिक्त रकम थपिदिने गरेका थिए । सिण्डीकेट अन्त्य भएसँगै यातायात व्यवसायी समितिहरुको अस्थित्व समाप्त भएको छ ।
अब सरकारले तेश्रो पक्ष बीमाको रकम वृद्धि गरेर सडक दुर्घटनामा मृत्युका आश्रित परिवारलाई १० लाख दिने व्यवस्था मिलाउन लागेको हो । ‘मृत्यु हुनेहरुका आश्रित परिवारलाई १० लाख र घाईतेहरुको उपचारका लागि ६ लाख रुपैंयाँ बीमा वापत उपलब्ध गराउने प्रस्ताव पास भएको छ, अब बीमा समिति पठाउँदैछौं’, यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य प्रसाद ढकालले विकासन्युजसँग भने ।
स्पाइनल इञ्जुरी र हेड इञ्जुरीका गम्भिर घाईतेहरुको उपचारका लागि १५ लाख रुपैंयाँ उपलब्ध गराउने प्रस्ताव तयार पारिएको पनि उनले जानकारी दिए । हालसम्म सवारी साधन दुर्घटनाका घाईतेहरुको उपचारका लागि ३ लाख रुपैंयाँ बीमा वापत उपलब्ध हुन्छ ।
सिण्डीकेट अन्त्यसँगै यातायात व्यवसायी समितिहरुले यात्रुको मृत्यु तथा घाईतेहरुको उपचारका लागि अतिरिक्त रकम उपलब्ध गराउन छाडेका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले यातायात समितिका बैंक खाता रोक्का गरिरहेको छ ।
बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि तेश्रो पक्ष बीमाको रकम वृद्धि गर्ने प्रक्रिया अघि बढेको बताए । यातायात व्यवस्था बिभागले रकम प्रस्ताव गरेपछि बीमा समितिले नयाँ प्रिमियम तोक्ने पनि उनले जानकारी दिए ।
प्रिमियम निर्धारणका लागि समितिका अध्यक्ष, बीमक कम्पनीका दुई जना प्रतिनिधी र समितिका कार्यकारी निर्देशक सदस्य सचिव रहेको बीमा दर सल्लाहकार समिति रहेको छ ।(विकास न्युजबाट)