१२ चैत, विराटनगर ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँबाट मात्र कोरोना भाईरस(कोभिड–१९) को परीक्षण हुँदै आएकोमा अब प्रदेश १ को धरानमा पनि यसको परिक्षण हुने भएको छ । कोरोनाको परिक्षण गर्ने केमिकल अभावमा परीक्षण हुन नसकिरहेको बेला प्रदेश १ सरकारले भारतबाट केमिकल ल्याएपछि धरानमा रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबबाटै कोरोना परीक्षण हुने भएको हो ।
शुक्रराज ट्रपिकलमा मात्र यसको परिक्षण हुँदा जहाजबाट स्वाब परीक्षणका लागि पठाईएपनि लकडाउन पछि एम्बुलेन्स तथा गाडीको सहायताबाट स्वाब परिक्षणको लागि काठमाडौँ लग्नु पर्ने बाध्यता थियो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेको अग्रसरतामा प्रदेश सरकारले केमिकलसहित आवश्यक सामाग्री ल्याएको हो । कोरोना केमिकलको अभाव भएको अबस्थामा १२ सयदेख १५ सय लाई पुग्ने केमिकल ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ल्याईएको केमिकल आजै बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बुझाईएको छ।
केन््रद्रीय प्रयोगशालासँग समन्वय गरेर २ दिन भित्रमा नै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना भाईसरको ल्याव परिक्षण शुरु हुने मन्त्री घिमिरेले बताए । यो काठमाडौँ बाहिर पहिलो पटक प्रदेश १ बाट कोरोनाको परिक्षण शुरु हुन लागेको हो ।