८ जेठ, काभ्रेपलाञ्चोक ।
पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् ।
धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् ।
जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन ।
“अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुप–यो”, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भनिन् । बनेपा जिल्लाको प्रमुख शहर हो ।
पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ ।
धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन् ।
रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन शिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ ।