काठमाडौं, फागुन १३
ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयअगाडि बम विस्फोट गराउने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको कार्यकर्ता भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका तीन जना सो समूहको भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कालिकोटको रासकोट नगरपालिकाका हाल ललितपुर महानगरपालिका धापाखेलमा बस्ने २० वर्षीय मानबहादुर तिरुवा, ललितपुरकै भैंसेपाटी बस्ने वर्ष २६ का सुदिन थापा र २८ वर्षीय सुदन थापा रहेका छन् ।
उनीहरुविरुद्ध ललितपुर जिल्ला अदालतबाट तीन दिन म्याद थप गराएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । तीन जना विप्लव समूहको कार्यकर्ता भएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार बम काण्डमा संलग्न रहेको आशंकामा पक्राउ परेका एनसेल कार्यालयकै दुई सुरक्षा गार्डलाई भने हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ ।
अन्य एक जनालाई तारिखमा छाडिएको छ । गत शुक्रबार राति एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । जसमध्ये लमजुङका ४९ वर्षीय सिंगप्रसाद सिंहको उपचार क्रममा मृत्यु भइसकेको छ ।