१० असार, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । एमसीसी लगायतका विषयमा छलफल गर्न बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने छ ।
नेकपामा एमसीसीलाई संशोधन नगरी पारित गर्न नहुने मत बलियो छ । त्यसैले नेकपा स्थायी कमिटीको बैठकको बहुमतले एमसीसी सम्झौतालाई अस्वीकृत गर्ने सम्भावना बढेको छ ।
बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।
एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ । त्यसैले बुधबारको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ ।