२० जेठ, काठमाडौँ ।
विभाजनको अन्तिम संघारमा रहेको नेकपा एमालेको दुवै पक्षले आज छुट्टाछुट्टै बैठक आह्वान गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउँदा पार्टीमा असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे ओली पक्षको स्थायी कमिटी बैठक बस्नेछ । बैठक पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको बताइएको छ ।
यसअघि बुधबारको लागि बोलाइएको बैठक नेताहरुको अनौपचारिक परामर्श जारी रहेकै कारण स्थगित गरिएको थियो ।
यस्तै, खनाल नेपाल पक्षले भने पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भर्चुअल रूपमा बस्नेछ ।
दुवै पक्षको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् । हाल पार्टी विभाजनको डिलमा पुगेपछि दोस्रो तहका नेता आपसी विवाद मिलाउन अनौपचारिक रुपमा सक्रिय भएका छन् ।
केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुुरेन्द्र पाण्डे, योगेशकुमार भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर एकताको गृहकार्य भइरहेको छ
।