९ साउन, काठमाडौँ ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कल्पनाले छनोट चरणमा ६ सय १६।८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।
यसअघि उनलेनै १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४।५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६।८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् ।
छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । फाइनल आज नै हुनेछ ।
कल्पनाले पहिलो सिरिजमा १०२।२, दोस्रोमा १०५।४ तथा तेस्रोमा १०१।१ स्कोर गरेकी थिइन् । चौथोमा १०४।१ र पाँचौमा १०३।४ स्कोर गरेकी उनले अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । अन्तिम सिरिजको पाँचौ प्रहारमा ८।८ स्कोर हुँदा समग्रमा जम्मा १००।७ स्कोर जोडिन् । समग्रमा ६ सय १६।८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् ।
कल्पनाले यसअघि सन् २०१८ मा भएको एसियाली खेलकुदमा ५ सय ९४।८ स्कोर गरेकी थिइन् । त्यसपछि सन् २०१९ मा नेपालमै भएको सागमा उनले प्रदर्शन सुधार गरेकी थिइन् । नेपालमा भएको सागमा उनी चौथो भएकी थिइन् ।