३ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका र विदेशका शक्तिको योजनामा पार्टी फुटाइएको बताएका छन् ।
विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रूपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकीकरण गरिएको भए पनि पार्टी फुटाइएको उनले बताए ।
यद्यपि अझै पनि कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको उनले बताए । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिस्ट पार्टीको एकता आवश्यक रहेको बताए ।
पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पङ्क्तिमा पु¥याउन नसक्नु पनि कमजोरी भएको उनले बताए । कम्युनिस्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ । पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र नागरिकप्रति गम्भीर रूप र इमानदार नहुने प्रवृत्तिले पार्टी एकतालाई भाँजो हाल्यो, पार्टी एकतालाई विभाजनमा पु¥यायो, प्रतिगमनको दिशातिर देशलाई लग्यो भनेर अब कम्युनिस्टहरूको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।
अब हामीले फेरि कम्युनिस्टहरूलाई कसरी एकताबद्ध गर्ने ? तर वैचारिक राजनीतिक कार्यदिशालाई सही ढङ्गले प्रष्ट पारेर, सांस्कृतिक रूपान्तरणको अभियान पनि कम्युनिस्ट आन्दोलनमा अगाडि बढाएर जानुपर्छ ।’