२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा नदीमा भेला भएर छठ पर्व मनाउन प्रशासनले रोक लगाएको छ । कोरोना भाइरस संक्रमण अझै बढ्दो अवस्थामा रहेको जनाउँदै यसपटक घरमै बसेर पर्व मनाउन प्रशासनले अनुरोध गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर पनि निर्णय गर्ने र योपटक सबैले घरघरमा पूजा गर्नुपर्ने बताएका छन् । दाहालका अनुसार जाडोको समयमा संक्रमणको जोखिम झन् बढ्ने भएकाले नदीमा जम्मा भएर भिडभाड गर्न निषेध गरिएको हो ।
‘वर्षौंदेखि चलिआएको रथ यात्राहरुदेखि लिएर मन्दिरहरु पनि दसैं, तिहार लगायतका चाडपर्वमा खुलेनन्’, दाहालले भने, ‘त्यसैले छठ पर्वमा पनि आमनागरिकले प्रशासनको अनुरोध मानिदिनु हुनेछ भन्ने विश्वास छ ।’
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार भिडभाड हुने खालका गतिविधिमा रोक लगाउने मन्त्रिपरिषद्कै निर्णय छ । त्यही अनुसार देउसी, भैलो जस्ता गतिविधिलाई समेत रोक लगाइएको उनी बताउँछिन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले स्वास्थ्य मापदण्ड पालना गरेर सीमित रुपमा पर्व मनाउनुपर्ने बताए ।