१७ जेठ, काठमाडौँ ।
केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो ।
यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गर्दा ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ ।
गत सोमबारदेखि हिजो (आइतबार) सम्म १ लाख ३१ हजार ३ सय ६५ जनाको कोरोना परीक्षण गर्दा ४५ हजार ५ सय २१ जनामा संक्रमण देखिएको छ ।
सोही अवधिमा ४९ हजार ६ सय सात जना संक्रमणमुक्त भएका छन् । यस्तै, मृतक संख्या पनि दैनिक घट्दो क्रममा रहेको छ । आइतबार १ सय ९ जना संक्रमितको मृत्यु भएको छ ।