१२ चैत, चितवन । फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी युवतीको परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएसँगै कतार एयरवेजबाट युवतीसंगै आएका चितवनका ६ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
गएको चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको विमानबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई सङ्क्रमण देखिएको थियो ।
उनीसँगै विमानमा आएकामध्ये ६ जना चितवन आइपुगेको जानकारी पाएपछि चितवन प्रहरीले खोजी सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेस्कको निर्देशनअनुसार ६ जनालाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहितको पत्र जिल्ला प्रशासन कार्यालय चितवनलाई पठाइएको छ ।
पत्रमा उल्लेख भएअनुसार त्यस विमानबाट चितवनमा पुग्नेहरुमा पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला, सुरेश गुरुङ, दीक्षा कँडेल र शम्भु नेपाली रहेका छन् ।
प्रहरीले उनीहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाइ पठाउन प्रशासनसँग आग्रह गरेको छ । उनीहरुमा पनि संक्रमण फैलिन सक्ने आशंकामा खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।