२५ कात्तिक, गोरखा ।
भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) बारे बारपाक सुलीकोट र धार्चे गाउँपालिकाबीचको विवाद सुल्झिएको छ ।
सोमबार जिल्ला समन्वय समितिको अगुवाइमा भएको सर्वपक्षीय बैठकमा तीन बुँदे सहमति भएपछि धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दुमाथिको दाबी छाडेको छ ।
धार्चे गाउँपालिकाले गुम्दाको चुङकाङ डाँडा इपिसेन्टर भनी प्रयोग गरेको शब्द प्राविधिक त्रुटि भएको भन्दै सच्याउने निर्णय भएको जिसस प्रमुख अशोक गुरुङले बताए । २०७२ को भूकम्पको इपिसेन्टर बारपाक नै भएको विषयमा कुनै विवाद नरहेको बैठकले निष्कर्ष निकालेको छ ।
दुई गाउँपालिकाका जनप्रतिनिधिसहितको बैठकले तीन बुँदे सहमति गर्दै विवाद समाधान गरेको हो ।केही दिनअघि धार्चे गाउँपालिकाले गुम्दाको चुङकाङ डाँडा भूकम्पको केन्द्रविन्दु भन्दै साइन बोर्ड राखेको थियो र भूकम्पको केन्द्रविन्दु आफ्नो गाउँपालिकामा पर्ने दावी गरेको थियो ।
त्यस्तै लाप्राकको पुसुडाँडादेखि गुम्दाको चुङकाङ डाँडासम्म इपिसेन्टर एडभेन्चर ट्रेल निर्माण गरी गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालबाट उद्घाटन गराएको थियो ।
भूकम्पको केन्द्रविन्दु बदल्ने गरी गतिविधि गरेको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएपछि दुई गाउँपालिकाबीचको विवाद सतहमा आएको थियो ।
भूकम्पको केन्द्रविन्दु बारपाक गाउँ बारपाक सुलिकोट गाउँपालिकामा पर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित सत्यलाई तोडमोड गर्न खोजिएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएको थियो ।
इपिसेन्टर तोडमोड गर्न लागिएको भन्दै बारपाकका स्थानीयले बिहीबार धार्चे प्रवेश गर्ने मुख्य नाकामा अवरोध गरेका थिए । उक्त अवरोध आइतबार हटाइसकिएको छ ।
इपिसेन्टरसँगै पर्यटन पदमार्ग निर्माण तथा सामुदायीक वन क्षेत्रभित्र ढुङ्गामुढा उत्खनन गरेको विषयमा पनि छलफल चल्नुपर्ने बारपाकवासीले बताउँदै आएका थिए । यसमा प्रचलित ऐन कानुन बमोजिम गर्ने सोमबारको सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।