चतरा, चैत २३
प्राचीन हरिद्वार चतराधाममा आजबाट दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेला सुरु भएको छ । कुम्भको समय कौशिकी नदी अर्थात सप्तकोशीमा स्नान गरेर बराह र पिण्डेश्वरको दर्शन गरे पुण्य प्राप्ति हुने विश्वास छ । देवताहरुले अमृत पिएर बचेको छोक्रालाई पिण्डको आकारमा महादेव(शिवलिंग) स्थापना गरिएको ठाउँ धरानको पिण्डेश्वर भएको विश्वास गरिन्छ ।
त्यसैले भारतको ४ ठाउँको कुम्भ भन्दा यहाँ लाग्ने पिण्डेश्वर महाकुम्भको महत्व बढी भएको मानिन्छ । सुनसरीको बराहक्षेत्र स्थित चतराधाममा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको पहलमा नेपालमै दोस्रो पटक अर्ध कुम्भ मेला सुरु भएको छ ।
हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ बर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ । वैशाख २४ गतेसम्म सञ्चालन हुने कुम्भमा चारवटा स्नान कार्यक्रम हुने बताइएको छ ।
कुम्भमा देश विदेशका करोडभन्दा बढी भक्तजन आउने आयोजकले जनाएको छ । कुम्भले अन्तराष्ट्रिय पहिचान बनाएको नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताए । अर्धकुम्भ मेलामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत अन्य मन्त्रीहरुको सहभागि रहेको थियो ।