२७ फागुन, विराटनगर ।
युवाहरुमाझ लोकप्रिय तथा चर्चित कवि नवराज पराजुलीको विराटनगरमा एकल कविता कन्सर्ट हुने भएको छ । विराटनगरको रोडशेष स्थित होटेल स्टर्न स्टारमा यही फागुन ३० गते कविता कन्सर्ट हुने भएको हो ।
संकल्प नेपाल नामक सामाजिक संस्थाको आयोजना हुन लागेको कार्यक्रममा ५ सय जना सहभागि हुने कार्यक्रम संयोजक जीवन बन्जाराले जानकारी दिए । सो कार्यक्रम होटेल स्टर्न स्टारको सभाहलमा दिउँसो ३ बजेबाट सुरु हुने समेत उनले बताए । कवि पराजुलीले सम्यक महर्जनको बाँसुरीको धुनमा कविता सुनाउनेछन् ।
उनले भिडियो सन्देशमार्फत सानो कविताको अशं बाचन गर्दै थप कविता विराटनगरमै सुनाउने बताएका छन् । साहित्य र कला क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको सो कार्यक्रमबाट संकलित रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’बाट निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने आयोजकले जनाएको छ । कार्यक्रम हेर्ने दर्शकका लागि २५ सय १ हजार र ५ सयको टिकट र विद्यार्र्थीका लागि २ सय ५० को टिकट व्यवस्था गरिएको जनाईएको छ ।