२६ जेठ, बेइजिङ ।
चीनले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितमध्ये कम्तीमा ९४.३ प्रतिशत निको भएका जनाएको छ । सबैभन्दा पहिला कोरोना भाइरसको सङ्क्रमण पत्ता लागेको चीनले बेइजिङमा आइतबार कोभिड-१९ विरुद्धको लडाइँसम्बन्धी श्वेतपत्र जारी गर्दै ९४.३ प्रतिशत कोरोना संक्रमित निको भएको जनाएको हो ।
चीनको राज्य परिषद सूचना कार्यालयद्वारा जारी ‘फाइटिङ कोभिड-१९ चाइना इन एक्सन’ शीर्षकको स्वेतपत्रमा भाइरसविरुद्धको लडाइँमा चीनको प्रयासलाई सुरक्षित गर्दै बाँकी विश्वमा आफ्नो अनुभव साट्ने उद्देश्य रहेको जनाईएको छ ।
कोरोनाविरुद्धको वैश्विक लडाइँमा आफ्नो विचार स्पष्ट गर्न श्वेतपत्र जारी गरिएको जनाउँदै कोभिड-१९ को महामारीलाई मानवताका लागि शताब्दीकै सबैभन्दा भयानक परिवेशका रूपमा विश्लेषण गरिएको छ । एउटा अज्ञात, अप्रत्याशित, र विनाशकारी रोगको सामाना गर्दै चीनले रोगलाई फैलिन नदिन नियन्त्रणका लागि दृढ लडाइँ लडेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
“मानिसको जीवन एवम् स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाउँदै चीनले व्यापक, कडा एवम् पूरै मेहनतका साथ कोरोनाभाइरस रोकथामका उपायहरू अपनाएको छ,” श्वेतपत्रमा उल्लेख छ । “अब यो भाइरसको सङ्क्रमण फैलिन नदिन सबै च्यानलहरू नियन्त्रण गर्न चीन सफल भएको छ ।”
महामारी विरुद्धको चिनियाँ लडाइँ, आगोको परीक्षा, समन्वयकारी ढङ्गले रोकथाम, नियन्त्रण र उपचारमा सक्षम, भाइरसविरुद्ध शक्तिशाली सेनाको निर्माण र स्वास्थ्यका लागि विश्व समुदायसँग हातमालो गरी श्वेतपत्रमा चार भाग प्रस्तुत गरिएको छ ।