८ असार, काठमाडौं ।
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिकरुपमा अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् । लकडाउन खुकुलो बनाएसंगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आआफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए ।
उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औल्याए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुनपानीले हातधुन पनि आग्रह गरे ।
उनले भने “लकडाउन हामी सबैका लागि हो । घर मै बस्नु पर्यो । साथीभाईलाई भेट्न पाईएन । काममा जान पाईएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौ । काममा जान पाएका छौ । नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौ ।
तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन । महामारी अझै पनि छ र हामीअझै पनि संक्रमित हुन सक्छौ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ । हामीले आफैले केही कदमहरु चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् ।
हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासंग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भएपनि हुन्छ । विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने । त्यसैगरी साबुनपानीले बारम्बार हात धुने किनभने संक्रमित व्यक्तिलाई तपाईले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईको हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईको शरिरमा प्रवेश गर्छ ।
त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरु तपाईहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पालना गर्नु नै हो ”