२१ असाेज, काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले बुधबार विज्ञप्ती जारी गर्दै भदौ २९ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै साे निर्देशन दिएकाे हाे ।
आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा आयोगको अनुगमनमा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको पाइएको पनि उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ – ‘डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको छ ।’
आयोगले डा. केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको पनि जनाएको छ ।
आयोगले केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । साथै आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि डा. केसीलाई आग्रह गरेको छ ।