विराटनगर, माघ २०
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलकको समृद्धिको लागि निजि क्षेत्रको साथ अपरिहार्य रहेको बताएका छन । सरकारको एकल प्रयासले मात्रै समृद्धि हासिल नहुने बताउदै मन्त्री यादवले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीहरूलाई आह्वान गरे ।
मुलुकमा लगानीको वातावरण नभएको भन्दै उद्योगीहरू धमाधम सेवामूलक क्षेत्रमा आकर्षित भइरहेका बेला मन्त्री यादवले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उद्योगी व्यवसायीहरूलाई आह्वान गरेका हुन् ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले शनिबार संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री यादवले उत्पादनमूलक क्षेत्रको लगानीले मात्रै बढी रोजगारी सिर्जना हुनुका साथै व्यापार घाटासमेत कम हुने दाबी गरे । हरेक प्रदेशमा कम्पनी रजिष्ट्रारको कार्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी गराए ।
आन्तरिक लगानीले मात्रै सरकारले लिएको २ प्रतिशतको आर्थिक वृद्धि सम्भव नरहेकाले बाह्य लगानी भित्र्याउनुको विकल्प नरहेको मन्त्री यादवले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले देशमा रोजगारी सिर्जना गर्ने वर्ग उद्योगी–व्यापारीहरूलाई सम्मान दिनुपर्ने सरकारको कर्तव्य रहेको बताए ।
मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले दुई तिहाईको बलियो र स्थिर सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि उद्योगी व्यवसायी उत्साहित हुने वातावरण बन्न नसकेको बताए ।
कार्यक्रममा प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, प्रतिनिधिसभाका सांसदहरू एलपी सावा, शिवकुमार मण्डल, मोती दुगड, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडालगायतले औद्योगिक क्षेत्रका समस्याका विषयमा मन्तव्य राखेका थिए ।