विराटनगर :जनप्रतिनिधिकै संलग्नतामा मोरङ उर्लाबारी नगरपालिकामा पर्ने सोल्टी र मिक्लु खोलाको ढुङ्गागिटी अवैध उत्खनन् प्रकरणमा सरकारी छानविन समितिले तयार पारेको प्रतिबेदन नै गायब भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचर्यको कार्यालयमा गठन भएको छानविन समितिले तयार पारेको प्रतिवेदन नै गायब भएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
उर्लाबारीका मेयर खड्ग फागोको मौखिक अनुमतीमा नामी ठेकेदार भीम पौडेलले उत्खनन् अनुमती नै नभएको खोला च्यानलाईज गर्ने (एकोर्याउने) नाममा अवैध ढुङ्गागिटी उत्खनन् गरी लगेका थिए । स्थानीयले च्यानलाइजका नाममा ढुङ्गागिटी तस्करी भएको भन्दै विरोध गरेपछि मोरङका तत्कालिन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले गत गत बैशाख ९ गते इलाका प्रशासन कार्यालय उर्लाबारीका तत्कालिन उपसचिव रामबहादुर कुरुङ्वाको नेतृत्वमा छानविन समिती गठन गरेका थिए ।
सोही छानबिन समितिले तयार पारेको प्रतिवेदनको आधारमा गत बैशाख २३ गते ठेकेदार कम्पनी भुमि कन्ट्रक्सनलाई पाँच लाख १२ हजार ५७ रुपैँया जरिवाना गर्ने निणर्य गरेको थियो तर निर्णय गोप्य राखियो ।
ज्रिवाना गर्ने निणर्य भएपछि गुपचुप राखिएको प्रतिवेदन गायब भएको हो ।