१९ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले विश्व विद्यालयहरुमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति नरोकिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा योग्यता र वरिष्ठताका ठोस् आधारमा नियुक्ति हुनुपर्छ भनेर लामो संघर्ष गरिएको तर सरकारले आफुखुसी पदाधिकारी नियुक्त गरिरहेको भन्दै डाक्टर केसीले आन्दोलनको चेतावनी दिएका हुन् ।
गएको शुक्रबार सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टर भगवान कोइराला, डाक्टर चन्द्रमणि पौडेल र डाक्टर धर्मकान्त बास्कोटाको नाम अन्तिम सूचीमा राखेको छ, तर डाक्टर केसीले भने सरकारको यो निर्णयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले नियुक्तिको हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुसार पदाधिकारी नियुक्त गर्न पनि माग गरेका छन् ।
यस्तै उनले युद्धकालका गम्भीर र मानवताविरोधी अपराध गर्नेहरुलाई अन्तर्रा्ष्ट्रिय अभ्यास अनुसार दण्ड गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसको पढाइ सुरु गर्न पनि माग गरेका छन् ।