२१ बैशाख, काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।
भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ ।
भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु–याइएको थियो । भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।