१५ भदौ, दाेहा।
जरिवाना तिर्न नसक्दा संयुक्त अरब इमिरेट्स (यूएई)बाट स्वदेश फर्किन लागेक एक दर्जन बढि नेपाली विमानस्थलमै रोकिएका छन् । भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा समय सकिए बापतको जरिवाना शुल्क तिर्न नसक्दा उनीहरु दुबई विमानस्थलमै अलपत्र परेका छन् ।
नेपाल एअरलाइन्सको चार्टर्ड उडान २२९२ को उडानमार्फत स्वदेश फर्किनको लागि टिकट लिएका मध्ये १७ जना नेलालीले भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपालफर्कन नपाएको बताइएको छ । स्वदेश फर्किन लागेका अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको युएईस्थित नेपाल एयरलाइन्सको कार्यालयले जनाएको छ । सो उडानमार्फत २ सय ५८ जना नेपाली स्वदेश फर्किएका छन ।
युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएका सयौ नेपाली जरिवाना तिर्न पर्दा समस्यामा परेका छन् । नेपाल सरकारले समयै भिसा सकिएकाहरुलाई उद्दार नगर्दा उनीहरु जरिवाना तिर्न बाध्य छन् । पटक पटक स्थगित हुदै सुरु भएको उद्धार उडानले अब पनि निरन्तरता नपाए धेरै नेपालीले थप जरिवाना र सजाय भोग्नुपर्ने हुन सक्ने दुबईमा रहेका नेपालीहरुले बताएका छन । यस घटनामा दूतावासले समेत अझै चासो नदेखाएको उनीहरुको गुनासो छ ।