धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक (भिडियो)

१५ माघ २०७६

१५ माघ, काठमाडौँ ।
हास्य कलाकार तथा समाजसेवी धुर्मुस–सुन्तलीको जोडिले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बुधवार सार्वजनिक गरिएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको भनिएको चलचित्रको ट्रेलरमा राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाइएको छ । चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् । ट्रेलरले चलचित्र उनीहरू कै वरिपरि घुम्ने बताउँछ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा सिताराम कट्टेल र कुञ्जना घिमिरेका साथमा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी छ भने फुर्पा लामा सह–निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

विज्ञापन बक्स