१९ चैत्र, एजेन्सी ।
रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीले जेलमै सत्याग्रहको घोषणा गरेका छन् ।
उपयुक्त स्वास्थ्य सेवाको मागसहित नेता नाभाल्नीले पिनल कोलोनीमा भोक हड्तालको घोषणा गरेका हुन् ।
ढाड दुख्ने समस्या र दायाँ गोडामा रहेको समस्याका लागि उपयुक्त स्वास्थ्य सेवा नपाएको उनले इन्स्टाग्रम मार्फत जानकारी गराएका छन् । यस्तै आफू पर्याप्त मात्रामा सुत्न नपाएको पनि उनले उल्लेख गरेका छन् ।
४४ वर्षका नाभाल्नी गएको जनवरीमा जर्मनीबाट रुस फर्किएका थिए । गएको वर्षको अगस्टमा विष दिएर उनको हत्या प्रयास भएपछि उपचारका लागि जर्मनी लगिएको थियो ।
पाँच महिनापछि स्वदेश फर्किएका उनलाई रुसी सत्ताले विमानस्थलबाटै पक्राउ गरेको थियो । त्यसपछि उनलाई जेल सजाय तोकिएको थियो ।
अहिले उनलाई मस्कोबाट १०० किलोमिटर पूर्वको आइके–२ पिनल कोलोनीमा राखिएको छ ।
आफूले स्वास्थ्य समस्या बताएर उपचारका लागि आग्रह गरे पनि पिनल कोलोनीका सुरक्षाकर्मीहरुले अस्वीकार गरेको नाभाल्नीले बताएका छन् ।
नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । कोष दूरुपयोग सम्बन्धी मुद्दाको प्रोवेशनका शर्त उल्लंघन गरेको भन्दै उनलाई रुसी अदालतले दुई वर्ष ८ महिनाको जेल सजाय तोकेको छ ।
उनीमाथिको आरोप र सजाय राजनीतिक रुपमा प्रेरित रहेको बताइन्छ । युरोपियन कोर्ट अफ ह्युमन राइट्सले उनको जीवन जोखिममा रहेकाले रिहाइ गरिनु पर्ने बताएको छ ।
रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यो हप्ता नाभाल्नी अरु सरह कानून अनुसार सजायको भागिदार रहेको बताएका थिए ।