१० साउन, काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आइतबार ट्वीट गर्दै आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् ।
उनले निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन शर्माले सरकारसँग आग्रह गरेका छन् ।
प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले अब गहन दायित्व निभाउनुपर्ने बेला आएको उल्लेख गरेका छन् । उनले लेखेका छन्,’ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय@PM_nepal_ माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भैरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताएका छन् ।
२०६५ साल साउन १० गते गृहकार्य गर्न साथीकोमा जान्छु भन्दै घरबाट हिँडेकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त घर फर्किनन् । त्यसकै भोलिपल्ट उखुबारीमा मृत भेटिएकी थिइन् । आइतबार निर्मलाको हत्या भएको तीन वर्ष पुगेको छ तर दोषी भने अझै पत्ता लाग्न सकेको छैन ।