१ कार्तिक, काठमाडौं ।
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदैछ ।
‘सबैका लागि सामाजिक र वातावरणीय न्याय हासिल गर्न सहकार्य’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । सन् १९९२ देखि हरेक वर्ष अक्टोबर १७ मा यो दिवस विश्वभर मनाउन थालिएको हो । सन् २०३० सम्म विश्वव्यापी रुपमा दिगो विकासको लक्ष्य राखिएको छ ।
राष्ट्रसंघले विकासोन्मुख देशमा खाना, नाना र छानाको अभावमा रहेका नागरिकलाई गरिबीको सूचकाङ्कमा रुपमा राखेको छ । नेपालको झण्डै १९ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको छ ।
गरिब पहिचान कार्यक्रम अन्तर्गत २६ जिल्लाका झण्डै ४ लाख गरिब परिवार पहिचान भएको र अहिले २३ जिल्लामा पहिचानको काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट समृद्धितर्फ र विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दिवसले उत्प्रेरणा प्रदान गर्ने बताएका छन् ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पनि कोरोना महामारीले गरिबीको दुष्चक्र झनै बढाएको भन्दै गरिबी घटाउन अझ धेरै प्रयासहरु आवश्यक रहेको बताइन्।