नेपालगञ्जमा बाँदर आतङ्क : घरभित्रै पसेर मान्छेमाथि नै आक्रमण

४ कात्तिक ७६, सोमबार
Share this
737shares

४ कात्तिक, काठमाडौँ ।

Advertisement

पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् ।

बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार मागेका छन् । बाँदरको झुण्ड स्थानीयवासीको घरमा पस्ने, बालीनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि जयसपुरवासी हैरान छन् ।

Advertisement

जयसपुरको बस्तीमा पसेर बाँदरले बालीनाली उखेलिदिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र मान्छेलाई समेत टोकेर हैरान गर्न थालेको स्थानीयवासी रोशनअली अन्सारीले बताए । केही दिनदेखि गाउँमा बाँदर आतङ्क बढ्दै गएको अन्सारीको भनाइ छ । बाँदरको डरले हातमा लठ्ठी बोकेर हिँडडुल गर्नुपर्ने अवस्था रहेको अन्सारीले बताए ।

उनले भने, “दुई/तीन सयको सङ्ख्यामा रहेका बाँदरको बासस्थान नै जयसपुर गाउँ नजिकैको जङ्गलमा हुने गरेको छ ।” किसान बाली जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन् । बाँदरले बारीमात्र नभएर घरभित्रै प्रवेश गरी भण्डारण गरिएको अन्न तथा पकाएर राखेको खानासमेत खाइदिने गरेको स्थानीयवासीको भनाइ छ ।

Advertisement

“बारीमा फलेका काउली, टमाटर, मेवा, फर्सी, लौका, आलुलगायतका बालीनाली तथा तरकारी सखापै पारिदिने गरेकाले हैरान छौँ”, नेपालगञ्ज–१६ का वडाध्यक्ष हनिफ जोलाहले भने, “कतिपय किसानले बाँदरको डरले खेतबारी नै बाँझै राख्न थालेका छन् ।”

पछिल्लो समय त बाँदरले बालबालिका, वृद्धवृद्धा तथा जोसुकै एक्लै हिँडेको देखेमा आक्रमणसमेत गर्ने गरेको स्थानीयवासी बताउँछन् । बाँदरको आक्रमणबाट स्थानीय केही व्यक्ति घाइते भएको वडाध्यक्ष जोलाहले बताए । बाँदरको डरले बालबालिकालाई एक्लै घर बाहिर छोड्ने अवस्था नरहेको स्थानीय मुन्नीकली अन्सारीले बताइन् ।

बाँदर आतङ्कबाट स्थानीयवासी हैरान भएर वडामा गुनासो आउन थालेपछि समस्या समाधान गर्न विभिन्न उपाय अपनाए पनि समाधान गर्न नसकिएको वडाध्यक्ष जोलाहको भनाइ छ । बाँदर आतङ्क रोक्न जिल्ला प्रशासन, उपमहानगरपालिका, वन डिभिजन कार्यालयलगायतका निकायसँग समन्वय तथा पत्राचार गरेको भए पनि कुनै निकायले सहयोग नगरेको वडा नं १६ का सचिव सलाउद्धीन अन्सारीले गुनासो गरे । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

mausam-2075-12-18-768x388
Scroll to Top