३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको जिम्मा भारतीय कम्पनीलाई १० वर्ष ठेक्कामा दिने प्रस्ताव गरेको छ ।
क्यानको भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको छ । प्रस्तावअनुसार यो कम्पनीले पहिलो वर्ष करिब साढे २ करोड क्रिकेट संघलाई बुझाउनेछ । र, क्रमशः बढाएर १० वर्षमा करिव ४० करोड बुझाउनेछ । तर प्रस्तावित भारतीय कम्पनीले अहिलेसम्म ठूलो खेल प्रतियोगिता आयोजना गरेको रेकर्ड छैन । सन् २०१२ मा स्थापना भएको यो कम्पनीको चुक्तापूँजी एक करोड भारु मात्र छ । यस्तो कम्पनीले कसरी प्रतियोगिता सफलतापूर्वक आयोजना गर्छ भनेर बैठकमा प्रश्न उठेको एक सदस्यले जानकारी दिएका छन् । पूर्वकप्तान पवन अग्रवाल, प्रदेश ३ का अध्यक्ष राजु बस्नेत, केन्द्रीय सदस्य छुम्बी लामालगायतले भने १० वर्षका लागि ठेक्कामा दिनु घातक हुने धारणा राखेका छन् ।