२७ असोज, काठमाडौं ।
आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि धर्मराउन पुगेको महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो ।
मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रस्तावबाट पछाडि हटेका छन् । योसँगै मुख्यमन्त्रीको पद तत्कालका लागि जोगिएको हाे ।
नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव ) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीतर्फका नेताहरुलाई समेत बालुवाटारबाटै ‘यूटर्न’ हुन संकेत दिइएको छ ।
आफू सुरक्षित रहेको सन्देश दिन मुख्यमन्त्री शाहीले मंगलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कुनै पनि हालतमा मिल्न दबाब दिएपछि दुई पक्षबीच वीरेन्द्रनगरमा सोमबारबाटै छलफल चलेको थियो ।
मंगलबार बिहानमात्रै प्रधानमन्त्री ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन टेलिफोनबाट दिएका थिए ।
अविश्वासको प्रस्तावमा छलफल गर्न मंगलबार दिउँसो १ बजे बैठक डाकिएको थियो । तर, हस्ताक्षर गरेका नेपाल पक्षका सांसदहरु उपस्थित नभएपछि उक्त बैठक नै प्रभावित भएको छ । पदीय भागबन्डा मिलेपछि नेपाल पक्षका सांसदहरु पछाडि हटेका हुन् । योसँगै मुख्यमन्त्रीलाई तत्कालका लागि राहत मिलेको छ ।
मंगलबार बिहान भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने अनि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुटेकाे हाे । स्रोतका अनुसार मंगलबार नै नेपाल पक्षले मन्त्रीका लागि मगुका सांसद चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटका करवीर शाहीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ ।
नेकपाको केन्द्रीय राजनीतिमा देखिएको प्रचण्ड–नेपाल समीकरण मुख्यमन्त्री शाहीको पद जोगिने आधार बन्यो । अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्डले लगातार भेटवार्ता र फोन सम्वाद गरेका थिए ।
प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र नेता नेपालसँग भेटेरै शाहीलाई जोगाउन आग्रह गरेका थिए । मंगलबार दिउँसो पनि सुर्खेतमा सहमति जुट्दै गर्दा कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै थिए ।
४० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाका ३३ जना सांसद छन् । जसमध्ये अध्यक्ष केपी ओली पक्षका १२, प्रचण्ड पक्षका १३ र नेता नेपाल पक्षका आठ जना सांसद छन् ।