विराटनगर,भदौ २९
सामाजिक संस्था परीवर्तनका लागि हातेमालोले शुक्रबार बिराटनगरमा बृहत सरसफाई गरेको छ । ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ साप्ताहिक रुपमा विभिन्न सरसफाई अभियान सञ्चालन गर्दै आएको सो संस्थाले विश्व सरसफाई दिवश २०१८ को अवसरमा बृहत सरसफाई गरेको हो ।
संस्थालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले सरसफाईका लागि आवश्यक सय थान औजारहरु उपलब्ध गराएको थियो । औजारहरु वितरण गर्दै मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले सरसफाई अभियान चर्चाका लागि मात्रै नभई सफल रुपमा कार्यान्वयन गर्न सुझाव दिए । उनले युवाहरु सरसफाई जस्तो महत्वपुर्ण कार्यमा अग्रसर भएको बताउदै यसरीनै सवैतिर युवाहरुले अभियान चलाए वातावरण स्वच्छ बन्न समय नलाग्ने दावी गरे ।
परीवर्तनका लागि हातेमालोका अभियान्ता तुलसि घिमिरेले परिवर्तनका लागि हातेमालोको ३६ औँ हप्ताको सरसफाई अभियान सकिँदा सम्म आफुहरुले कतैबाट आर्थिक सहयोग नलिएको बताउँदै पहिलो पल्ट मन्त्रालयले सहयोग गरेको जानकारी दिए ।
संस्थाका अध्यक्ष विनोद परियारले सरसफाईका लागि औजारहरु सहयोग गरिदिएकोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई धन्यवाद दिँदै सरसफाई अभियानमा निरन्तर लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।
सरसफाई अभियानमा बिराटनगरको हनुमान मन्दिरदेखि देवकोटा चौकसम्म सडक,सडकको पेटी र नाला सरसफाई गरिएको थियो ।नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ र विश्व सरसफाई दिवश २०१८(भाद्र ३०) को अवसरमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र विराटनगर महानगरपालिकाले भाद्र २४ देखि ३० गतेसम्म सरसफाई सप्ताहको आयोजना गरेको छ ।