१५ असार, धनगढी ।
आइतबार राती पहिरोमा पुरिएर दार्चुलाका बुवा–छोराको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर आमा गम्भीर घाइते भएकी छन् । नौगाड गाउँपालिका ४ होपरीमा विद्युतको नहर भत्किदा गएको पहिरोले बाबु छोराको मृत्यु भएको हो भने आमा गम्भीर घाइते भएकी हुन् ।
आइतबार राति १२ बजेतिर घरमाथि रहेको होपरी जलविद्युतको नहर भत्किँदा गएको पहिरोले स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिए ।
उनका अनुसार चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते रहेको र उनलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएको छ । मृतक चन्द्र महताको घर पूर्ण रुपमा क्षति भएको उन बताए ।
‘योसँगै थप दुईवटा घरमा पनि पहिरोले क्षति पुर्याएको खबर आएको छ’ सहायक प्रहरी निरीक्षक चन्दले भने, ‘प्रहरीको टोली घटना स्थल तर्फ गइरहेको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।’