बुधवार,असोज ४
इस्लामावाद उच्च अदालतले पाकिस्तानकका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनका परिवारका दुई जनाको जेल सजाय खारेज गरिदिएको छ । भष्ट्राचारको मुद्दामा जेल चलान भएका पाकिस्तानी पूर्व प्रधानमन्त्री र उनका परिवारका सदस्यको जेल सजाय अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ ।
गएको जुलाईमा लण्डनमा रहेको फ्ल्याटको स्रोत खुलाउन नसकेपछि शरीफसहित परिवारका अन्य दुई सदस्यलाई अदालतले जेल सजाय तोकेको थियो । नराज शरीफ, उनकी छोरी मरियम र ज्वाईँलाई अदालतले भष्ट्राचारको मुद्दामा दोषी ठहर गरेको थियो ।
बुधबार इस्लामावादको उच्च अदालतले नवाज शरीफलाई लगाइएको भष्ट्राचारको मुद्दामा पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था, ‘नेशनल एकाउन्टिबिलिटी ब्यूरो’ले आवश्यक प्रमाण नजुटाएको भन्दै शरीफलाई जेलमुक्त गर्न आदेश दिएको हो ।
नवाज शरीफलाई गएको जुलाईमा १० वर्ष जेल सजाय र १०.५ मिलियन डलर जरिवाना सुनाइएको थियो । त्यस्तै उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय र २.६ मिलियन डलर सजाय र ज्वाई सफदारलाई एक वर्ष कैद सजाय सुनाइएको थियो ।
उनलाई सार्वजनिक संस्थाहरु चलाउन प्रतिबन्ध गरिएको छ । त्यहाँको सर्वोच्च अदालतले गएको अप्रिलमा शरीफले संसदमा आफ्नो निजी सम्पत्ति सार्वजनिक गर्दा गलत तथ्य दिएको जनाएको थियो ।