विराटनगर, ३१ वैशाख ः नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक छ भन्दै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग गरे ।
पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह हो भन्दै नेता कोइरालाले इतिहासमै नेपाली काँग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको धारणा व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।
रासस