३ जेष्ठ, एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध सैनिक कारबाही पूर्ण शक्तिका साथ जारी रहने बताएका छन् ।
प्रधानमन्त्री नेतान्याहुले वार्ताहरुबाट शान्ति बहाली नभएसम्म कारबाही जारी राख्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । इजरायलको आक्रमणबाट हिजो एकैदिन ४० जना भन्दा धेरैको ज्यान गएको छ ।
एक हप्ता अघि इजरायलसँग युद्ध शुरु भएयता हिजो सबैभन्दा घातक दिन भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । हिजो इजरायलको सेनाले व्यस्त सडकमा समेत आक्रमण गरेको र तीनवटा ठूला भवन भत्काएको बीबीसीले जनाएको छ ।
गाजामा अहिलेसम्म एक सय ९७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ५८ बालबालिका तथा ३४ महिला छन् ।
एक हप्तामा प्यालेस्टिनी विद्रोहीहरूल तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका र आफूहरुले जवाफी कारबाही जारी राखेको इजरायलको सेनाले जनाएको छ ।
दुइ देशबीच दिउँसो र राति पनि भिडन्तहरु भैरहेका छन् । इजरायलमा खतराको साइरन बज्नासाथ मानिसहरु सुरक्षित कोठामा जाने गरेका छन् ।
इजरायलतमा रकेट हमलाहरूमा परि १० जनाको ज्यान छ । यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले युद्धविराम गराउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ । तर पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताएका छन् । इजरायलको बलियो सहयोगी अमेरिकाले त्यस्ता वक्तव्य कूटनीतिक प्रक्रियाका निम्ति सहयोगी नहुने भन्दै आएको छ । हमासले युद्धविरामका लागि चासो देखाए पनि इजरायलले नमानेको बीबीसीले जनाएको छ ।