२६ पौष, काठमाडौं । प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानीको टुङगो आइतबार लाग्ने भएको छ ।
शनिबार बसेको प्रदेशसभाको बैठकले आइतबार बिहान नौ बजे प्रदेश राजधानी र नामका विषयमा मतदान हुने तय गरेको पछि प्रदेश ३ को नाम र राजधानी टुगिन लागेको हो ।
प्रदेश नम्बर–३ को नाम र राजधानीका लागि शनिबार संसदमा भएको छलफलपछि स्थगित बैठक आइतबार बिहान नौ बजेका लागि आह्वान गरिएको छ ।
सभामुख सानुकुमार श्रेष्ठले शनिबारको बैठक स्थगित भएको जनाउँदै आइतबार बिहान नौ बजेका लागि आह्वान गरेका छन । नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।
यस्तै नेकपा र कांग्रेसले भने हेटौडा राजधानी हुने प्रस्ताव गरेका छन । बहुमत रहेको नेकपा र प्रतिपक्ष रहेको कांग्रेस नै हेटौडाका पक्षमा सहमत भएपछि प्रदेश ३ को राजधानी हेटौडा र नाम बाग्मती हुने पक्कापक्की देखिएको छ ।
संसद सचिवालयले आइतबार बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ । मतदानपछि प्रदेशको स्थायी राजधानी र नामाकरण हुनेछ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । तीमध्ये सबैभन्दा बढी नेकपाको ८० जना सांसद रहेका छन् ।
शनिबारको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गरेका छन । पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाएका छन् ।
यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशको नाम बाग्मती प्रस्ताव पेश गरेका छन् । बानियाँको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङले लगायतका दलका सांसदले समर्थन जनाएका छन ।