काठमाडौं,मंसिर २२
नेपाल विद्युत प्राधिकरणले देशभरका १ सय ४५ महसुल संकलन केन्द्रमा ‘अनलाइन पेमेन्ट’ प्रणाली लागु गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले १५ महिनाअघि सुरु गरेको अनलाइन पेमेन्ट प्रणाली देशभर विस्तार गरिएको हो ।
निर्देशनालय अर्थमहाशाखा प्रमुख राजनराज विष्टका अनुसार प्राधिकरणका ३५ लाखमध्ये ३ लाख ५ हजार बढी ग्राहकले नियमित रुपमा विद्युत महसुल अनलाइन प्रणालीबाट तिर्दै आएका छन् । अहिले मासिक ४३ करोड महसुल अनलाइन प्रणालीबाट ग्राहकले तिर्दै आएको उनले बताए । अनलाइन सेवा प्रदायकमध्ये सबैभन्दा बढी महसुल ई–सेवाबाट संकलन भइरहेको छ ।
गत कात्तिक महिनाको तथ्याङ्क अनुसार ई–सेवाबाट १ लाख ५६ हजार ३१ ग्राहकले तिरेको १९ करोड ४५ लाख १८ हजार २ सय ७ रुपैयाँ प्राधिकरणको खातामा जम्मा भएको छ । ग्राहकको आकर्षण बढ्दै गएको अनलाइन प्रणाली एक वर्षमा देशभर विस्तार गरिए पनि २७ स्थानमा अझै यो सेवा पुगेको छैन । बाँकी स्थानमा चालु आर्थिक वर्षभित्र अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउने विष्टका दाबी छ ।
अनलाइन महसुल भुक्तानी गर्न प्राधिकरणले ८ वटा सेवा प्रदायकसँग सम्झौता गरेको छ । प्राधिकरणका अनुसार इ–सेवा, सिएफएस एक्सप्रेस, पे पोइन्ट नेपाल, सिटी एक्सप्रेस मनी ट्रान्सफर्मरसँग भुक्तानी सुविधा सेवाका लागि सम्झौता गरिएको छ । यस्तै, प्रभू, नेपाल इन्भेष्टमेन्ट, हिमालयन र महालक्ष्मी विकास बैंकसँग पनि सम्झौता भएको छ ।
ग्राहकले आफ्नो खाता रहेका एनआइसी एसिया, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रे, वाणिज्य, ग्लोबल आइएमई बैंकबाट पनि महसुल तिर्न सकिनेछ । अनलाइनबाट महसुलत तिर्न ग्राहक परिचयपत्र र वितरण केन्द्र नम्बर राखेर फारम भरेपछि प्राधिकरणको बैंक खातामा रकम जम्मा हुन्छ । (उर्जा खबरबाट)