त्रिभुवन विश्वविद्यालय एमएड फस्र्ट सेमेस्टका विद्यार्थी मंगलबार बिहान ११ बजे हुने भनिएको साइकोलोजी विषयको परीक्षाका लागि अन्तिम तयारी गरेर परीक्षा केन्द्रतर्फ जाँदै थिए ।
तर, देशभरका ३८ परीक्षा केन्द्रमा परीक्षार्थी पुग्दानपुग्दै प्रश्नपत्र सामाजिक सञ्जालमा छरपस्ट भइसकेको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालै छानबिन गर्याे । परीक्षाका लागि तय भएको प्रश्नपत्र नै सामाजिक सञ्जालमा पुगेको पुष्टि भएपछि परीक्षा स्थगित भयो ।
त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईले प्रश्नपत्र तयार पारेका हुन् । आफूबाटै प्रश्नपत्र आउट भएको उनले स्विकारेका छन् । ‘प्रश्नपत्र मेरो पेनड्राइभमा थियो, त्यसमा बिएड, एमएडका कोर्सका फाइल पनि थिए, कोर्स दिँदा प्रश्नपत्र गएजस्तो लाग्छ,’ उनले भने ।
तर, आइतबार भएको फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि प्रा. भट्टराईकै गम्भीर दोष देखिएको छ । फाउन्डेसन अफ एजुकेसनको परीक्षामा पनि त्यही प्रश्नपत्र आयो, जुन प्राध्यापक होमनाथ भट्टराईले आफ्नो किताबमा नमुना प्रश्नपत्र भनेर छापेका थिए । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।