२६ चैत, काठमाडौं । कोरोना महामारीको त्रास बढ्दो छ । छिमेकी देश भारतमा दैनिक लाखौं संक्रमित भेटिँदा सीमा खुला भएकाले आवतजावत पनि सहज छ ।
नेपालमा पनि दैनिक संक्रमितको संख्या बढि नै रहेको छ । कोरोना संक्रमण उच्च भए सबैभन्दा पहिले असर पर्ने क्षेत्र विद्यालय पनि एक हो । बन्द कोठामा नजिकै बसेर अध्ययन गर्नुपर्ने हुनाले विद्यार्थीहरुलाई संक्रमणको उच्च जोखिम छ । यसअघि महामारी फैलिएर शैक्षिक संस्था लामो समय बन्द हुँदा त्यसको प्रत्यक्ष असर शैक्षिक सत्रमा परिरहेको छ । फेरि कोरोना भाइरसको दोस्रो लहरका कारण विद्यालय नै बन्द हुने जोखिम बढेको छ । बुधबार एक सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्यो । जारी गरिएको सूचनामा लेखिएको छ– हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ । लामो समय बन्द रहेका देशभरका अधिकांश विद्यालय केहिमहिना यतामात्र सञ्चालनमा आए । कतिपय विद्यालयले अझै पनि भर्चुअल माध्यमबाटै पढाइरहेका छन् ।
विद्यालयमा बढि भिडभाड हुने, सामाजिक दुरी कायम गराउन कठिनाइ हुने त छँदैछ, बन्द कोठामा घण्टाँै धेरैजना बस्नुपर्ने हुँदा कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम छ । भारतमा अहिले दैनिक १ लाख बढि संक्रमित फेला परिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख २६ हजार जना संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतका कतिपय राज्यमा पूर्ण लकडाउन त कतै कफ्र्यु नै लगाइएको छ । भारतमा देखिएको बढि संक्रामक भनिएको नयाँ प्रकारको कोरोना भाइरस नेपालमा समेत पुष्टि भइसकेको अवस्थामा बढि भिडभाड हुने विद्यालय क्षेत्रमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आग्रह त गरेको छ तर ति सबै मापदण्ड पालना नगर्ने प्रवृत्ति भने यथावत छ । यस्तो अवस्थामा संक्रमण फैलिए, संक्रमितको संख्या अधिक बढ्न जाने निश्चित छ ।
पूर्व सावधानी नअपनाउने हो भने विद्यालय अबको हटस्पट बन्न धेरै समय नलाग्न सक्छ । यसअघि स्वास्थ्य मन्त्रालयले तत्काल लकडाउन गर्ने अवस्था नरहेको बताएको त छ तर विद्यालय क्षेत्र जोखिममा रहेको सूचना जारी गरिसकेकाले संक्रमण उच्च भए विद्यालय बन्द गर्नुको विकल्प रहँदैन ।