२७ असाेज, एजेन्सी ।
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकारले हालै कानुन संशोधन गरी बलात्कारको अपराधको हकमा अधिकतम सजायको रुपमा मृत्युदण्डसम्म दिन सकिने कानुनी प्रावधान जारी गरेकाे हाे।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट यही मंगलबार उक्त कानुन जारी हुनेछ । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
राजधानी ढाकामा गरिएको प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए । अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष ५ हजार ४ सय जना बलात्कारको सिकार भएका थिए ।
प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको बीबीसीको समाचारमा उल्लेख छ । मन्त्री हरुले अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको बताए ।
निर्णयको चौतर्फी स्वागत हुने अपेक्षा गरिएको छ । तर कपितय अधिकारकर्मीले बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
एक मानव अधिकारवादी संस्थाका अनुसार बंगलादेशमा ९ महिनामा कम्तीमा ९ सय ७५ जना महिला बलात्कृत भएका थिए । तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका भएको ऐन ओ सलिस केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पीडितमध्ये ४३ जनाको हत्या गरिएको र १२ जनाले आत्महत्या गरेका छन् ।