२० भाद्र, बागलुङ ।
बागलुङको ढोरपाटन नगरपालिका भुजिखोलामा आएको बाढीले एक सय ७१ वटा भौतिक संरचनामा क्षति पुर्याएको छ ।
४१ जना मानिस बगाएको बाढीले घर, विद्यालय, जलविद्युत स्वास्थ्य संस्था, झोलुङ्गे पुल लगायतका भौतिक संरचना बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बाढीले बगाएका ४१ जनामध्ये तीन जना सम्पर्कमा आएका, १४ जनाको शव भेटिएको र २४ जना अझै हराइरहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ नम्बर वडाका गाउँलाई उजाड बनाएको भुजीखोलाले सबैभन्दा बढी क्षति वडा नम्बर ९ मा पुर्याएको छ । भुजीखोला आसपासको फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको छ ।
ढोरपाटन नगरपालिका–९ देउरालीडाँडाबाट खसेको पहिरो खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीका कारण ढोरपाटन–९ मा जम्मा ७३ घर र ढोरपाटन–८ मा १० घरमा पूर्ण क्षति भएको छ भने ४८ घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । पूर्ण तथा आंशिक रुपमा क्षति भएका घरबाट पाँच सय १८ जना विस्थापित भएका छन् ।
एक सय ३१ घरसहित ११ लघु जलविद्युत, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, पाँचवटा ढलान पुल, दुई विद्यालय र १० वटा काठे पुल गरी १७१ भौतिक संरचनामा क्षति पुर्याएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।(रासस)