१२ कात्तिक, एजेन्सी।
क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । पछिल्ला दिनमा क्लबभित्र र समर्थकबाट बढ्दो दबाब पाइरहेका बार्टोमेउले मंगलबार राजीनामा गरेका हुन्।
सन् २०१४ मा क्लबको अध्यक्ष बनेका उनलाई बार्सिलोनाका समर्थकहरुले हटाउन दबाब दिइरहेका थिए । स्टार खेलाडी लियोनल मेस्सीसँगको सम्बन्ध बिग्रिएका कारण बार्सिलोनाका समर्थकहरुले बार्तोमेउको विरोध गर्दै आएका थिए । मंगलबार बार्तोमेउ क्लबको सबै बोर्ड अफ डिरेक्टरसँगै पछि हटेका हुन् ।
क्लबका २० हजार बढी सदस्यले उनलाई पदमुक्त गर्न हस्ताक्षर संकलन गरेका थिए । बार्सिलोनाको आर्थिक अवस्थामा ह्रास र मैदानभित्र पनि खस्कँदो प्रदर्शनका कारण बार्टोमेउ आलोचित हुँदै आएका थिए ।
राजीनामा दिएको घोषणा गर्ने क्रममा बार्तोमेउले क्लबको आर्थिक भविष्यका लागि सुपर लिगमा सामेल हुने निर्णय गरेको बताएका हुन् । तर सुपर कपलाई लिएर एकमत हुन सकेको छैन । बार्तोमेउ आउँदो मार्चमा पद मुक्त हुँदै थिए ।