५ वैशाख, एजेन्सी । कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४–० ले पराजित गर्दै उपाधि जितेको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको बार्सिलोनाले १२ मिनेटभित्र चार गोल गरेको थियो ।
खेलको ६० औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै फ्रेन्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता बनायो । ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए ।
८६औं मिनेटमा ग्रीजमनले गोल गरेपनि भिएआर रेफ्रीले मान्यता दिएन र बार्सिलोनाले ४–० विजयी भयो ।
बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ ।
२०१९–२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १–० ले पराजित भएको थियो ।