२१ कात्तिक, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको ५ सचिवालय सदस्यहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको बैठकमा सहभागी पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले जानकारी दिए।
कार्यकारी अध्यक्षले पार्टीको आधिकारिक बैठक बोलाउन मिल्ने भए पनि पार्टी एकताको सन्दर्भलाई ध्यान दिँदै अर्का अध्यक्ष केपी ओलीको सहमतिमै बैठक बोलाउने समझदारी भएको प्रवक्ता श्रेष्ठले बताए ।
शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा प्रचण्डसहित नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए । प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल, सचिवालय रामबहादुर थापा बादल र महाचिव विष्णुप्रसाद पौडेल भने अनुपस्थित थिए ।
नेकपामा विवाद तीव्र रूपमा बढ्दै गएका बेला अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले औपचारिक बैठक राखे त्यहीबाट पार्टी विभाजन हुने ओलीले बताएपछि अनौपचारिक छलफल राखिएको जानकारी गराएका थिए । प्रचण्डले प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक बोलाइएको जानकारी दिएका थिए ।